काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्य    क्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य मनिष सुमनले परिषद् अध्यक्षसहित बैठकले केन्द्रीय विधान एवं नियमावली संशोधन गर्दै केन्द्रीय समितिसमेत घोषणा गरेको छ । यसअघि ७ सय १ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था भए पनि त्यसलाई संशोधन गर्दै ७ सय ७९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।

यसैगरी, बैठकले आठ केन्द्रीय निकाय र २९ वटा केन्द्रीय विभागका प्रमुखसमेत चयन गरेको छ । प्रदेश, जिल्ला, स्थानीय तह, भ्रातृ संगठनलगायतका सांगठनिक एकतालाई समेत छिटै टुंगो लगाउने निर्णय भएको छ ।

बैठकले संघीय सांसद रेशम चौधरीको रिहाइका लागि दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको सुमनले बताए । अन्य आवश्यक निर्णय गर्ने अधिकारी अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलाई दिइएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका बीचमा एकीकरण भई गत १० वैशाखमा जसपाको घोषणा भएको हो । जसपामा पदाधिकारी चयनका साथै जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन् । शीर्ष नेताहरूकै बीचमा सहमति जुट्न नसक्दा महत्वपूर्ण काम अझै टुंगो लाग्न बाँकी रहेको छ । 

 राजधानी दैनिकबाट