काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ ।  

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेको हो । यस्तै, बैठकमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने पनि सहमति भएको स्रोतले बताएको छ । 

दिउँसो २ बजे सुरु हुने भनिएको बैठक लामो विवादपछि बेलुका सवा आठ बजे सुरु भएको थियो । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सके आफ्नै नेतृत्वमा सरकार बनाउने, नसके अन्य दललाई अघि सारेर भए पनि सरकारबाट ओलीलाई बिदाइ गर्नु पर्ने पक्षमा अडान लिएका थिए भने सभापति शेरबहादुर देउवा आफू विपक्षी रहेको र सरकारमा जान हतारो गर्न नहुने पक्षमा थिए । लामो छलफलपछि उनीहरुबिच उक्त सहमति भएको थियो ।