काठमाडौं - सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध साढे ७ वर्षको जेल सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ । सो प्रकरणमा मंगलबार काठमाडौं जिल्ला अदालतमा राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । भेपमा लुकाई तस्करी गरी सुन ल्याएको उनीहरुमाथि आरोप छ ।

प्रहरीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुल महरा, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएकामध्ये निमा छिरिङ फरार छन् ।

प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्ष कैद सजायको मागदाबी गरिएको प्रहरीले जनाएको छ ।

मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो ।

भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोका रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ । भेपमा सुन लुकाई ल्याएको प्रकरणमा ८ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएकाले उक्तमु द्दामा उनीहरु दोषी ठहर भएमा कम्तीमा ३ वर्ष र अधिकतम ५ वर्षको कैद सजाय हुनेछ त्यसबाहेक संगठित अपराधमा पनि उनीहरुको संलग्नता पुष्टि भएमा उनीहरुलाई मुल कसुरमा थप ५० प्रतिशत कैद हुनेछ ।