काठमाडौं - कोभिड–१९ को संक्रमणदर तीव्ररूपमा वृद्धि हुँदै गएपछि बेलायत सरकारले इंग्ल्यान्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरी सोमबार लकडाउन घोषणा गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री जोन्सनले नयाँ परिस्थितिबारे छलफल गर्न शनिबार दिउँसो मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत गरेका छन् । बीबीसीका अनुसार घरैमा बस्न निर्देशन दिइने उक्त घोषणा सोमबार हुनेछ तर स्कुल, कलेज र विश्वविद्यालयमा नयाँ नियम लागू नहुने जनाइएको छ ।

बीबीसीले प्राप्त गरेको एक दस्तावेजमा बेलायतमा थप प्रतिबन्ध लागू नगरिए यहाँ अघिल्लो पटकभन्दा बढी मानिसको मृत्यु हुने सुझाइएको छ । उक्त दस्तावेजमा अहिलेकै अवस्था कायम रहे दैनिक मृत्युदर ४ हजारभन्दा बढी हुन सक्ने उल्लेख छ ।

पहिलोपटक बेलायतमा दैनिक १ हजारसम्म मानिसको मृत्यु भएको थियो । बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएपछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले संक्रमण नियन्त्रणको प्रयास स्वरूप दोस्रो लकडाउन विकल्प रोज्न लागेको हो ।

लकडाउनले जनताको जीवन, जीविकोपार्जन, स्वास्थ्यलगायत क्षेत्रमा ठूलो असर पर्न सक्ने भन्दै सरकार लकडाउनको पक्षमा नभए पनि उसलाई वैज्ञानिक सल्लाहकारहरूको चर्को दबाब थियो ।

सरकारको प्यान्डामिक मोडलिङ ग्रुप एसपीआई एमले तयार पारेको दस्तावेज प्रधानमन्त्रीले अध्ययन गरिसकेका बताइएको छ । मध्य डिसेम्बरसम्म अस्पतालमा बिरामीको चाप र मृत्युदर उत्कर्षमा पुग्ने र यो क्रम कम्तीमा डिसेम्बर अन्त्यसम्म रहने दस्तावेजको अनुमान छ ।

वैज्ञानिक सल्लाहकारहरूको समूह सेज ग्रुपले इंग्ल्यान्डमा यसअघि सोचिएको खराब अवस्थाभन्दा छिटो संक्रमण बढिरहेको र जाडो यामका बेला कम्तीमा ८५ हजार जना मानिस मर्न सक्ने अनुमान गरिरहँदा नयाँ तथ्य आएको हो ।

उता, सरकारी अधिकारीहरूलाई सम्प्रेषण गरिएको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) इंग्ल्यान्ड मोडलिङमा आधारित अर्को दस्तावेजमा एनएचएसले क्रिसमसका बेला थप कोभिड बिरामी लिन नसक्ने चेतावनी दिइएको छ । आपत्कालीन उपचारका लागि बनाइएका नाइटिङ्गेल अस्पतालहरू उपयोग गरिएमा र अति जरुरीबाहेकका बिरामीहरूको उपचार रद्द गरिए पनि एनएचएसले थेग्न नसक्ने उल्लेख छ ।

दक्षिण पश्चिम इंग्ल्यान्ड र मिडल्यान्डमा सबैभन्दा पहिले १५ दिनभित्रै सेवा प्रभावित हुने जनाइएको छ । केही दिनअघि मात्र इंग्ल्यान्डमा कोरोनाबाट दैनिक झन्डै लाख मानिस संक्रमित भइरहेको एउटा अध्ययनले देखाएको छ ।

इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनले बेलायतमा महामारीको गति तीव्ररूपमा बढिरहेको र प्रत्येक ९ दिनमा यो संख्या दुई गुणाले बढ्ने गरेको उल्लेख छ । हाल दैनिक झन्डै १ लाख जनामा कोरोना संक्रमण फैलिरहेको कलेजको अनुसन्धानले देखाएको छ । ‘अहिलेको अवस्था निकै जटिल छ र यो स्थितिमा चाँडै परिवर्तन गरिनुपर्छ’, अध्ययनले सुझाएको छ ।

विशेषज्ञहरूले यदि अहिलेकै संक्रमण दर जारी रहने हो भने इंग्ल्यान्डमा नोभेम्बर अन्त्यसम्ममा प्रत्येक दिन १० लाखभन्दा बढी मानिस संक्रमित हुन सक्ने चेतावनी दिएका छन् । कोरोनाको दोस्रो लहरमा अस्पताल भर्ना हुने र मृतक संख्यामा उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने कलेजले बताएको छ । युरोपमा कोरोना संक्रमणको प्रमुख केन्द्र बनेको बेलायतमा गत मंगलबार एकै दिन ३ सय ६७ जनाको मृत्यु भएको थियो जुन मे २७ यताकै सबैभन्दा उच्च हो ।

बेलायतमा शुक्रबार २४ घण्टाभित्र २४ हजार ४ सय ५ जना संक्रमित भेटिए भने २ सय ७४ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ कोभिडका कारण ४६ हजार २ सय २९ जनाको निधन भइसकेको छ भने ९ लाख ९० हजारभन्दा बढी संक्रमित भएका डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरले जनाएको छ ।

इंग्ल्यान्डको लिभरपुल, म्यानचेस्टर, वेस्ट योर्कसायर क्षेत्रमा संक्रमण उच्च वृद्धि भएपछि सरकारले टियर थ्रीअन्तर्गत थप प्रतिबन्धहरू लागू गरेको छ । इंग्ल्यान्डको कुल जनसंख्यामध्ये ५८ प्रतिशत जनता सरकारी लकडाउनको मारमा रहेका बताइएको छ ।

बेलायतस्थित जनस्वास्थ्यविद् डा. विभु पौड्याल कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने देखिएको बताउँछन् । पौड्यालले सतर्कता अपनाउनु नै भाइरसबाट बच्ने उत्तम उपाय भएको बताए ।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आइरहँदा बेलायतस्थित नेपाली समुदायलाई लक्षित गरी नेपाल पत्रकार महासंघ यूके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य संवाद’ सञ्चालन गर्ने भएको छ । शाखाले नेप्लिज डक्टर्स एसोसिएसन यूके, नेप्लिज नर्सेज एसोसिएसन यूके र गैरआवासीय नेपाली संघ यूकेको स्वास्थ्य समितिसँग मिलेर सो संवाद सुरु गर्ने निर्णय गरेको हो । अघिल्लोपटक कोरोनाबाट बेलायतमा विशेषगरी भूपू गोर्खा र तिनका परिवार बढी प्रभावित भएका थिए । यहाँ करिब ६ दर्जन नेपालीको ज्यान गइसकेको छ ।

सन्त्रासबीच खोपको आशा

ब्रिटेनमा कोरोना संक्रमण उल्लेख्य वृद्धि भइरहँदा यसविरुद्धको खोप पनि छिट्टै तयार हुन लागेको समाचार प्रकाशमा आएका छन् । खोप विकास अन्तिम चरणमा पुगेको बताउँदै केही उत्पादक कम्पनीहरूले क्रिसमसअघि वितरणका लागि तयार भइसक्ने दाबी गरेका छन् । बेलायत सरकारले खोप विकास नहुँदै करिब ३४ करोड डोज किन्न सम्झौता गरिसकेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका खोप छिट्टै आउने विश्वास गरिएको छ । फर्मास्युटिकल जाइन्ट बायोएनटेक र फाइजर, भल्नेभा, जेनसिन र नोभाभ्याक्स, जीएसके र सानोफी पास्चर्सजस्ता कम्पनी पनि खोप विकासको अन्तिम परीक्षणमा रहेका बताइएको छ । 

कान्तिपुर दैनिकबाट