काठमाडौं - बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा उद्यमी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बयान दिएका छन् । चौधरीले बिहीबार बिहान सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी श्याम ज्ञवालीका अनुसार सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा बिहीबार बिहान बयान दिएका हुन् ।

सीआईबीले बुधबार चौधरीबारे छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई पत्र पठाएर जानकारी गराएको थियो । त्यसपछि बिहीबार सांसद चौधरीसँग बयान लिइएको हो ।

बयान दिनका लागि सांसद चौधरी सरकारी वकिल कार्यालयमा आफैँ हाजीर भएको सीआईबीले जनाएको छ । बिहीबार बिहानैबाट बयान दिएर अहिले उनी निस्किसकेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना आरोपमा यसअघि सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ गते पक्राउ गरेको थियो ।

अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । तर उनीहरू काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भइसकेका छन् ।