सुकुम्बासी बस्तीमा डोजर नचलाउन बालेनलाई ‘जेनजी मुभमेन्ट अलायन्स’को चेतावनी
काठमाडौं - जेनजी मुभमेन्ट अलायन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमुखी दृष्टिकोणबाट हल गर्न आग्रह गरेको छ।
काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र विकल्पबिना फेरि बस्तीहरूमा डोजर लगाउने तयारी गरेको समाचारप्रति गम्भीर आपत्ति जनाउँदै अलायन्सले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू लामो समयदेखि कष्टपूर्ण जीवन बिताउँदै आएका छन्। तिनीहरूलाई देशभित्रै आप्रवासीझैं व्यवहार गर्दै बास खोस्ने कार्य अमानवीय र अस्वीकार्य छ।’
अलायन्सले नेपाली जनताको ठूलो हिस्सा आफ्नै भूमिमा भूमिहीन र विस्थापित बन्नु राज्यको ऐतिहासिक असंवेदनशीलता, विभेद र बहिष्करणको परिणाम भएको उल्लेख गर्दै यस्ता विषयमा अध्ययनबिना निर्णय लिनु खेदजनक बताएको छ।
‘मौजुदा कानुनले बस्ती व्यवस्थापन र हटाउने प्रक्रिया स्पष्ट पारेको भए पनि त्यसको पालनाबिना भय र आतंक सिर्जना गर्नु नागरिक अधिकारको हनन हो,’ विज्ञप्तिमा भनिएको छ।
अलायन्सले भूमिलाई जनताको पहिचान, आवास र उत्पादनसँग जोडिएको मौलिक अधिकारका रूपमा परिभाषित गर्दै राज्यले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या स्थायी समाधानका लागि ठोस नीति ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस