काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी (अदालतका सहयोगी)ले आफ्नो राय दिने भएका छन् ।

पक्ष विपक्षको बहस सकिएपछि मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी हुनेछन् । पहिलो दिन वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राय दिएका थिए भने बुधबार सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले आफ्नो राय दिएका थिए ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्की, खरेल, मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । एमिकस क्युरीको बहस सकिएपछि अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा १३ वटा रिट परेका थिए ।