काठमाडौं - नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनमा सहजिकरणको लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल विस्तार गरेको छ ।

आज च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसेको बैठकले यसअघि नै बनेको कार्यदलको संयोजक रावललाई बनाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘अध्यक्ष कमरेडको निर्देशनमा कार्यदलको संयोजकमा भीम रावल कमरेडलाई तोकिएको छ । कार्यदलमा ६ जना हुनुहुन्थ्यो । त्यसमा एक जना थपेर ७ जना बनाइएको छ । कमरेड शंकर पोखरेललाई पनि थपिएको छ ।’ योगेशले भने ।

कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।