काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना विद्यार्थी नेताहरुलाई निष्कासन गरेको छ । स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरका अनुसार दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि उनीहरुलाई कारबाही गरिएको हो । केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।

एमालेको संस्थापन पक्षले यस अघिनै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेको छ । तर, असन्तुष्ट समूहले संस्थापन पक्षलाई चुनौति दिँदै समानान्तर कमिटीहरु गठन गर्दै आएका छन् ।