काठमाडौं - सरकारले थप ३२ लाख डोज कोरोनाविरुद्धको खोप यसै साता ल्याउने भएको छ । चीन तथा जापान सरकारले अनुदानमार्फत् दिन लागेको खोप यसै साताभित्र ल्याउने तयारी सरकारले गरेको छ ।

आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप यही साताभित्र आउने जानकारी गराएका हुन् । केही समयअघि चीन तथा  जापानले अनुदानस्वरुप नेपाललाई दिने घोषणा गरेको खोप आउन लागेको हो ।

चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ । सोही खोप अहिले देशभर लगाइराखिएको छ । 

जापानले पहिलोपटक दिन लागेको खोप एन्ट्रेजेनेकाको हो । सरकारले उक्त खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाउने तयारी गरेको छ । 

छलफलपछि कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले फाइजरको ४० लाख डोज खोप खरिद गर्नलाई आवश्यक तयारी भइरहेको बताएका छन् ।