काठमाडौं - उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले अध्यागमन विभागले पदयात्रा नगर्न पर्यटक तथा पदयात्रीलाई आग्रह गरेको छ।
विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको जनाएको जानकारी दिएको हो।
मौसम प्रतिकूल हुने सम्भावनालाई मध्यनजर गर्दै विभागले उक्त अवधिभर पर्यटक तथा पदयात्रीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा पदयात्राको अनुमति लिइसकेकाहरूलाई समेत यात्रा नगर्न आग्रह गरिएको छ।
विभागका अनुसार जोखिमयुक्त निषेधित क्षेत्रमा पदयात्राका लागि अनुमति जारी गर्ने कार्य आजैदेखि रोकिएको छ। मौसममा प्रतिकूलता आउन सक्ने भएकाले पदयात्राको योजना स्थगित गरी सुरक्षित रहन विभागले सचेत गराएको हो।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेको छ।
अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमबाट बच्न सबैलाई सतर्कता अपनाउन अनुरोध गरेका छन्।

.gif)



