काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। पवन सर्राफले ३७ बलमा ३७ रन जोड्दै अरिफुलसँग चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे।

कर्णालीले सुरुवातदेखि नै लगातार विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट भए। चार रनमा पहिलो विकेट गुमाएको कर्णालीले १८ रन पुग्दा दोस्रो विकेट पनि गुमायो।

जनकपुरका लागि डेब्यु गरेका आइकोनिक खेलाडी राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराए। कर्णालीले ३७ रन जोड्दा हुसेन तलत तीन रन बनाएर पभेलियन फर्किए।

अरिफुल र पवनको साझेदारीले कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरे पनि त्यसपछि विकेट पतन रोकिएन। अरिफुल र पवन आउट भएपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झा १२ रनमा आउट भए। नन्दन यादवले नौ रन बनाए। युवराज खत्री र युनिश ठकुरी अविजित रहे।

जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले दुई(दुई तथा ललित राजवंशीले एक विकेट हात पारे।

यसअघि मंगलबारको अर्को खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको थियो। सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो।