काठमाडौं - देशका विभिन्न पहाडी र राजमार्ग सडकखण्डहरूमा वर्षासँगै आएको पहिरोका कारण यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडकका कारण यात्रुहरूले लामो समयसम्म सास्ती खेप्नु परेको छ भने सम्बन्धित निकायहरू सडक खुलाउने प्रयासमा जुटेका छन् ।
कालीकोटको खाँडाचक्र नगरपालिका–५ मा पर्ने जुम्ला–सुर्खेत सडकखण्ड बिहानी खोलामा माथिबाट आएको पहिरोले बिहान ६ः४० बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अत्यधिक वर्षापछि आएको माटो र ढुंगाको पहिरोले बाटो थुनिएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ को विश्वकर्मा मन्दिर नजिकैको पूर्व–पश्चिम राजमार्ग पनि बिहान ८ बजेदेखि ठप्प भएको छ।

चिप्लोपनका कारण एक मालवाहक सवारी साधन उकालो चढ्न नसकेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुबै दिशाको सवारी रोकिएको छ, जसले यात्रु र मालवाहक गाडीहरू बीच बाटोमै अलपत्र परेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका–९ बिमिरेभन्ज्याङ क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग पनि बिहान साढे ७ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोले सडक बगाउँदा सवारी सञ्चालन रोकिएको हो ।