काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले आफ्नो पार्टीको विवादसम्बन्धी विषयमा एकपक्षीय रुपमा निर्णय गरेको आरोप लगाएका छन् । 

पार्टीले कारबाही गरेको र त्यो निर्णय आयोगले नमान्नु आश्चर्यजनक भएको यादवको भनाई छ । साथै, त्यस्तो पूर्वाग्रही निर्णय आफूहरुलाई मान्य नहुने यादवले बताए । 

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गंभीर शंका उत्पन्न भएको छ,’ यादवले मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ ।

जसपाको निर्णय विपरित कार्य गरेको तथा पार्टीका अनुशासन उल्लघंन गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो ।

त्यसपछि अध्यक्ष ठाकुरले पनि अर्का अध्यक्ष यादव लगायतलाई पार्टीबाट निष्काशन गरेका थिए । दुवैजनाले एक अर्कालाई यसरी कारवाही गरेको निर्वाचन आयोगमा जानकारी गराउँदै त्यहाँको दर्ता किताबलाई अध्यावधिक गर्न आग्रह गरेका थिए । तर निर्वाचन आयोगले दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गर्न नसक्ने भन्दै हाल रहेको पदाधिकारी नै कायम रहने निर्णय सुनाएको थियो ।

सो निर्णयविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहने यादवले बताए । ‘निर्वाचन आयोगले गरेका उपरोक्त काम कारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहनेसमेत जानकारी गराउछौं ।’ विज्ञप्तीमा उल्लेख छ । 

UpendraYadav statement