काठमाडौं- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ भने बैठकमा अनुपस्थित हुने भएका छन्। रास्वपाले शुक्रबार महत्वपूर्ण निर्णय गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री शाह बिहानै गाडीमार्फत पोखरातर्फ प्रस्थान गरेका हुन्। त्यसका कारण पार्टीको केन्द्रीय समिति बैठकमा उनको उपस्थिति नहुने भएको हो।

रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टीका रिक्त पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्य मनोनयनलगायत संगठनात्मक विषयमा निर्णय गर्ने तयारी छ। यसअघि रास्वपाले भदौ ५ गतेका लागि बोलाएको दोस्रो केन्द्रीय समिति बैठकमा रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गरी संगठनात्मक संरचनालाई पूर्णता दिने तयारी गरेको जनाएको थियो।

तर, पार्टीको संगठन विस्तार र जिम्मेवारी बाँडफाँटसँग सम्बन्धित महत्वपूर्ण निर्णय हुने बैठककै दिन वरिष्ठ नेता शाह राजधानीबाहिर गएपछि उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो।