काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घन्टी घर वनस्थलीमा बैठक बस्न लागेको हो ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बस्न लागेको बैठकमा स्थानीय निर्वाचनको तयारी, सांगठनिक व्यवस्थापन, विभिन्न पदमा मनोनयन तथा पार्टीका आगामी कार्यक्रमबारे महत्वपूर्ण छलफल हुने भएको छ।

बैठकको प्रमुख कार्यसूचीमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा-२०८३ अनुमोदन गर्ने विषय रहेको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयलाई व्यवस्थित बनाउन तयार गरिएको रूपरेखामाथि छलफल गरी अनुमोदन गर्ने तयारी गरिएको हो।

त्यस्तै, नागरिकलाई निर्वाचित प्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सक्ने अधिकारसँग सम्बन्धित ‘राइट टु रिकल’ विषयमा दस्तावेज निर्माण गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछ।

बैठकमा पार्टीको सांगठनिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न मनोनयनका विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी प्रस्ताव कार्यसूचीमा राखिएको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयसमेत बैठकमा छलफल हुनेछ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुने भएको छ।

यसमार्फत स्थानीय तहमा उम्मेदवार छनोटको प्रक्रिया र मापदण्डबारे पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी गराउने तयारी गरिएको छ। यसैगरी, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ।

पार्टीका गतिविधि, विचार, नीति तथा कार्यक्रमलाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने उद्देश्यले डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि बैठकमा छलफल हुने जनाइएको छ।