काठमाडौं - आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा। प्रमोद जोशी नियुक्त भएका छन्।

उनीहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

डा. अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सामा एमडी गरेका छन्। उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्। यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा काम गरेका थिए।

यसैगरी, रमेश श्रेष्ठले भारतबाट मेडिकल रेडियोग्राफीमा स्नातक तथा रेडिएसन र इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्। उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत छन्।