नेपालमा दैनिक ११ हजार काेराेना संक्रमित हुन सक्छन् : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले अहिलेको संक्रमणदर हेर्दा मन्त्रालयले सो प्रक्षेपण गरेको बताएका हुन् ।
‘अहिलेको स्थिति हेर्दा नेपालमा जेठ–असार महिनामा संक्रमणदर उच्च विन्दुमा पुग्ने देखिन्छ । त्यसताका दैनिक ११ हजार संक्रमित थपिन सक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ । त्यसका लागि अहिले नै हामीले आवश्यक तयारी गरिरहेका छौँ ।’ त्रिपाठीले भने ।
संक्रमण रोक्न सरकारले सक्दो प्रयास गरिरहेको र स्वास्थ्य मापदण्ड अपनाउन पनि उनले आग्रह गरे । भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्न निर्देशन दिइएको उनले बताए । साथै, अस्पतालहरूमा सुरक्षा कवच, औषधिलगायतका सामग्री व्यवस्थापन गर्ने त्रिपाठीले बताए ।
फेसबुक पेज Like गर्नुहोस