लोकसेवाकाे परीक्षा र विज्ञापन स्थगित, मजदुरलाई सरकारले काम दिने
काठमाडौं - सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले यस्तो निर्देशन जारी गरेको जानकारी दिएका हुन् ।
'रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।' उनले भने ।
यस्तै, कोरोना भाइरस (कोभिड-१९) को उपचारवापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने निर्णय सरकारले गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
खतिवडाले असङ्गठित क्षेत्रमा कार्यरत रही हाल बेरोजगार श्रमिकलाई तीनै तहका सरकारी कार्यालयबाट सम्पादन हुने सार्वजनिक निर्माणका काममा लगाउने निर्णय भएको जानकारी दिए । यसरी काममा लगाउँदा उनीहरुलाई दैनिक ज्यालास्वरुप नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराइने छ ।
उनका अनुसार असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रदान गर्ने राहत मापदण्डको सीमाभित्र रही स्थानीय तहले दैनिक ज्याला दर निर्धारण गर्नेछ । काममा नआउने र नचाहने व्यक्ति राहत माग्न आएमा काममा खटिएका व्यक्तिले पाउने पारिश्रमिकको २५ प्रतिशत हुन आउने रकमको खाद्यान्न मात्र उपलब्ध गराइनेछ । यससम्बन्धी विधि र प्रक्रिया तयार गरी कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा दिएको छ ।
यस्तै, सरकारले कोभिड १९ को उपचारमा प्रयोग हुने औषधि, स्वास्थ्य उपकरण, स्यानिटाइजर, पञ्जा, पिपिईको आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट उपलब्ध गराउने भएको छ । अस्पतालको क्षमता विस्तार समेतका लागि थप बजेट उपलब्ध गराउने बैठकले निर्णय गरेको छ। स्यानिटाइजर उत्पादनका लागि स्वदेशी उद्योगलाई इथानोल खरिदमा अन्तःशुल्क ऐन २०५८ को अनुसूची बमोजिम लाग्ने अन्तःशुल्क पूर्णरुपमा छुट दिने पनि सरकारले निर्णय गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस