एमसीसी पास नगरे सभामुखविरुद्ध काँग्रेसले महाभियोग ल्याओस्, सघाउन तयार छाैँ :रायमाझी
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।
विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले अमेरिकी सहयोग सम्झौता (एमसीसी) पास नभएको खण्डमा काँग्रेसले सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव गरे एमाले सहयोग गर्न तयार रहेको बताएका हुन् । संसदको काम कारबाहीलाई सुचारू रूपमा चलाउन पनि सभामुखलाई हटाउँदा राम्रो हुने उनको भनाई छ ।
‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’ उनले भने । सभामुख सापकोटा विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको उनको आरोप छ ।
सचिव रायमाझीले आफ्नाे पार्टीले भने एमसीसीबारे धारणा नबनाएको स्पष्ट पारे। एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै उनले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमतसहित विजय हाँसिल गर्ने दाबीसमेत गरे।
फेसबुक पेज Like गर्नुहोस