काठमाडौं - चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउने भएका छन् । 

नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्  ।

बिदेशमन्त्री वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र  १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय बैठक बस्नेछ । भ्रमणमा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत नेपालले तयार पारेका ९ वटा आयोजनाका विषयमा छलफल हुने जनाइएको छ । 

नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शिर्ष नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

कोरोना महामारी मत्थर हुँदै गएपछि नेपालमा उच्चस्तरीय कूटनीतिक भ्रमणहरु बाक्लिएको छ । पछिल्ला दिनहरुमा विदेशी उच्चस्तरीय व्यक्तिले नेपालको भ्रमण र नेपालका उच्चस्तरीय व्यक्तिले विदेशको भ्रमण गर्ने क्रम बढेको हो । गत साता साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले नेपाल भ्रमण गरेका थिए ।