काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत रक्षात्मक सोचबाट माथि उठाएर समयसापेक्ष, गतिशील र विकासमुखी बनाउनुपर्ने बताएका छन्।

उनले बदलिएको विश्व राजनीतिक र आर्थिक परिवेशअनुसार नेपालको कूटनीतिक दृष्टिकोण पनि रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन्।

सोमबार काठमाडौंमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ शृंखलामा ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्ति’विषयमा कार्यपत्र प्रस्तुत गर्दै भट्टराईले पृथ्वीनारायण शाहको समयदेखि प्रचलित ‘दुई ढुंगाबीचको तरुल’ भन्ने रूपक अहिलेको युगमा पर्याप्त नभएको टिप्पणी गरे।

“अब हामी दुई ढुंगाबीच थिचिएको तरुल मात्र होइनौं, दुई विशाल छिमेकीका बीचमा आफ्नो पहिचान, सौन्दर्य र सामर्थ्यका साथ फुल्ने लालीगुराँस बन्नुपर्छ,” उनले भने।

भट्टराईले चौथो औद्योगिक क्रान्ति, डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ताको युगमा नेपालले आत्मविश्वासका साथ विश्व समुदायसँग जोडिनुपर्ने धारणा राखे।

उनका अनुसार अबको परराष्ट्र नीति सुरक्षा केन्द्रित मात्र नभई आर्थिक समृद्धि, लगानी, प्रविधि हस्तान्तरण र विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ।