काठमाडौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले अत्यावश्यक बाहेकका सबै भेटघाट बन्न गरेका छन् । अध्यक्ष प्रचण्ड पुत्री एवं स्वकीय गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी दिएकी हुन् ।

प्रचण्डले भेटघाट बन्न गर्नुको कारण भने, विश्वभर महामारीकै रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रास हो । यसअघि भने उनले आफ्नो निवास खुमलटारमा भेटघाटका लागि आउने कसैलाई पनि रोकेका वा त्यसै फिर्ता पठाएका थिएनन् ।

स्वकीय गंगाले फेसबुकमा लेखेकी छन्, ‘विश्वभर महामारीका रुपमा फैँलिदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक)हाललाई स्थगित गरिएको छ ।’

यो बेला सरकारले कोराना भाइरसबाट बच्न अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन अपील गरेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको लक्षण नदेखिए पनि उच्च जोखिम रहेका कारण सतर्कता अपनाउन भन्दै सरकारले विभिन्न निर्णयहरु गरेको छ ।

कोरोनाको सम्भावित संक्रमणलाई रोक्न भन्दै सरकारले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा समेत बुधवार साँझ स्थगित गरेको निर्णय सुनाएको छ । यस्तै, फिल्महल, डान्सबार, रेष्टुरेन्ट देखि लिएर आम मानिसको जमघट हुने ठाउँहरु बन्द गर्न निर्देशन गरेको छ ।

संघीय संसदले समेत संसदीय गतिविधि रोक्ने भएको छ, भने सर्वोच्च अदालतले समेत बन्दी प्रत्यक्षीकरणबाहेक सुनुवाईका कार्यक्रम रोक्ने तयारी थालेको छ ।