काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको लागि किशोर प्रधानको समूहले उमेदवारी घोषणा गरेकाे छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधान समूहले उमेदवारी घोषणा गरेको हो । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उमेदवारी घोषणा गरेका छन् ।

सम्मेलनमा बोल्दै प्रधानले सबै व्यावसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास व्यक्त गरे ।

कोभिड-१९ को विषम् परिस्थितिमा अध्यक्षलाई सघाउने टोली नहुँदा देशको अर्थतन्त्र नै धरापमा पर्ने देखिएकाले भावी अध्यक्ष शेखर गोल्छाको सारथी बन्न उम्मेदवारीको घोषणा गरेको प्रधानले बताए।

उनले देशको अर्थतन्त्र जोगाउन पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।