काठमाडौं - नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असहमति जनाउँदै आज पनि राजधानीमा विरोध कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सोहीअनुसार आज पनि काठमाडौंको माइतीघर मण्डल क्षेत्रमा प्रदर्शन आयोजना गरिने भएको छ । पार्टीका सचिव महेश बस्नेतले समर्थक तथा कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले फेसबुकमा लेखेका छन्- 'आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा एमाले राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ। '

एमालेका सचिव बस्नेतका अनुसार शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गर्दै आन्दोलनलाई थप सशक्त बनाइँदैछ।

शनिबार नै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो, जसअनुसार राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन भइसकेका छन्। हिजो देशभरका जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेर विरोधपत्र बुझाएको थियो ।

ओलीलाई राजनीतिक पूर्वाग्रहका आधारमा गैरकानुनी ढंगले नियन्त्रणमा लिएको आरोप लगाउँदै एमालेको राजधानी प्रदेश कमिटीको संयोजनमा हुने आजको कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ।

ओलीलाई नियन्त्रणमा लिइएको दिनदेखि एमालेले गरेको विरोध प्रर्दशनमा शनिबार सिंहदरबार क्ष्ोत्रमा तोडफोड गरेको आरोपमा सात जना पक्राउ परेका थिए भने केही घाइते भएका थिए ।  यसैगरी हिजो पनि नौ जना पक्राउ परेका छन् भने दुई जना घाइते भएका छन् ।