काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनाव आउन एक साता मात्र बाँकी रहेका बेला गएराति सिंगापुर प्रस्थान गरेका छन् ।

सुरक्षा उच्च स्रोतका अनुसार उनी राति करिब पौने १२ बजे सहयोगी भानु देउवासहित सिंगापुरतर्फ उडेका हुन् । देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएको दाबी गरिएको छ ।

यद्यपि उपचारसम्बन्धी औपचारिक विवरण सार्वजनिक गरिएको छैन। देउवाकी पत्नी आरजु राणा देउवा भने हाल भारतमा रहेकी छन् । 

चुनावी अभियान उत्कर्षमा पुगेका बेला देउवाको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व गगन थापा को हातमा पुगेपछि देउवा सार्वजनिक रूपमा खासै सक्रिय देखिएका थिएनन्। चुनावी मैदानमा उनको उपस्थिति खोजिए पनि उनी अभियानमा प्रत्यक्ष देखिएका थिएनन् ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’ पछि आन्दोलनकारीको आक्रमणमा परेपछि पनि देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए।