नेकपा स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेको भन्दै अर्को बैठकको मिति नतोकेरै स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छलफल र परामर्श हुन नसकेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको सत्ता संघर्षका कारण नेकपा फुटको डिलमा पुगेको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गर्ने निचोडमा दाहाल पक्षीय नेताहरु पुगेका बेला ओलीले बैठक नै स्थगित गरेका हुन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्षमा रहेका दाहाल र माधव नेपालसहितका नेताहरुले सोमबार बैठक गरी अब बहुमतबाटै निर्णय लिने पक्षमा उभिएका थिए ।
पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित बैठक बस्नुपूर्व सोमबार दाहाल–नेपाल खेमाका नेताहरुले अलग्गै छलफल गरेर ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने निचोड निकालेका थिए ।
सोमबार बिहान दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुबीच छलफल भएको थियो ।
छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा दाहालले बैठक सञ्चालन गर्ने समझदारी बनेको थियो ।
अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दाहाल–नेपाल पक्षले दबाब दिइरहे पनि ओलीले भने आफूले राजीनामा दिने हो भने त्यही दिनबाट पार्टी एकता भंग हुने भन्दै परिणाम ब्यहोर्न खुल्ला चुनौति दिइरहेका छन ।
फेसबुक पेज Like गर्नुहोस