काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

प्रचण्डले देशका विभिन्न स्थानमा बाढी-पहिरोले वितण्डा मच्चाइरहेको बताउँदै नेता-कार्यकर्ताहरुलाई आ–आफ्ना क्षेत्रबाट उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

बुधबार विज्ञप्ती जारी गर्दै प्रचण्डले तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रहसमेत गरेका छन् । ‘हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु ।’ विज्ञप्तीमा उल्लेख छ ।

उनले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि आग्रहसमेत गरेका छन् ।

मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको प्रचण्डको भनाई छ ।

May be an image of 1 person and text