काठमाडौं - नेपाल आयल निगमले भारतबाट एलपी ग्यासको नियमित आपूर्ति  प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा अभाव देखिएको भन्ने हल्ला अनावश्यक भएको बताएका हुन् । 

उनले हालसम्म मागअनुसार नै भारतबाट ग्यास आयात भइरहेको बताए। 

उनले भने- 'यहाँ मासिक खपत हुने ग्यास हरेक महिना पाएकै छौँ। फागुनको २६ गतेसम्म पनि साढे ४५ हजार मेट्रिक टन ग्यास हामीकोमा आएको छ। '

प्रवक्ता ठाकुरले कृत्रिम अभावजस्तो देखिएको अवस्थालाई नियन्त्रणमा ल्याउन तथा वितरण प्रणालीलाई सहज बनाउन हाल केही स्थानमा आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था सुरु गरिएको बताए। 

उनले थप भने- 'हालसम्म पनि ग्यास सहजै रुपमा आयत भइरहेको छ । तर उपभोक्ताले अनावश्यक भण्डारण गरे । त्यसरी थुपारेन भने एक हप्तामा ग्यास पाउने सहज वातावरण मिल्छ। त्यसैले त्यसरी घरघरमा स्टक नगर्नुस्।'

उनले पर्याप्त परिमाणमा ग्यास आयात भइरहेकाले उपभोक्तालाई आवश्यकभन्दा बढी भण्डारण नगर्न आग्रह पनि गरे।

यतिबेला बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ। ग्यास डिपो र उद्योगहरू बाहिर आधा सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ता बिहानैदेखि लाइनमा बस्न बाध्य छन्। 

यद्यपि आयलले निगमले भने मागअनुसार शतप्रतिशत ग्यास आपूर्ति भइरहेको बताउँदै आइरहेको छ ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि  मध्यपूर्वमा उत्पन्न परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव भएको, त्यसबाट उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छ।

सोही सन्दर्भमा आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड लगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरू समेतको अनुगमन  गरेको थियो । 

त्यसपछि आयोगले कतिपय व्यवसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेको लगायतका तथ्यहरु प्राप्त भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।