बुटवल - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुको कार्यमूल्यांकनको आधारमा मन्त्रिमण्डलको पुनर्गठन गर्न लागेको जानकारी दिएका हुन् ।  सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले भने, ‘अबको साता १० दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ। यसको तयारी भइरहेको छ।’

त्यस्तै, मन्त्री ज्ञवालीले लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको बताएका छन् । पार्टीको विवाद मिलेसँगै सरकारको कामलाई प्रभावकारी बनाउनको लागि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको ज्ञवालीले बताए ।

त्यस्तै, ज्ञवालीले प्रदेशका मन्त्रिमण्डल समेत पुनर्गठन हुने बताएका छन् । मुख्यमन्त्री नफेरिए पनि प्रदेश मन्त्री फेरिने उनले जानकारी दिएका हुन् ।