काठमाडौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार  २४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।  

शनिबार मृतकको संख्या ४०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको गौतमको भनाइ छ । 

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ। 

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो।

पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।  बिहीबार १२ सय ४६, शुक्रबार २०२० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबारको तुलनामा शनिबार ५० प्रतिशत बढी नै संक्रमितको संख्या घटेको छ । 

प्रवक्ता गौतमका अनुसार देशभर अहिले १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्।