काठमाडौं - निलम्बित सांसद रेशमलाल चौधरीको रिहाई लगायतको विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ।

बिहिबार निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्‍न माइतीघर मण्डला पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यसबारे जानकारी दिएका हुन् । 

‘सरकारले एउटा वार्ता टोली गठन गरेर यो विषय समाधान गर्न चाहन्छ। तपाईंहरु पनि वार्ता टोली बनाउनुहोस्, आज क्याबिनेट बैठक छ। त्यहाँ वार्ता टोली गठन गर्छौं। छिटै अब यो समस्या वार्ता र संवादद्वारा नै हल गरेर अघि बढ्नुपर्छ।’ बादलले धर्ना बसेकालाई भने । 

उनले चाँडै नै थारु कल्याणकारिणि सभा, थारु अगुवाहरुको नेतृत्व गरेर सरकारसँग वार्ता टोली बनाउने समेत बताए ।

प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्‍दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालतल दिपायलले सदर गरेको छ ।