विभूषणमा नेपालको चुच्चे नक्सा किन राखिएन ? सरकारले दियो यस्तो स्पष्टीकरण
काठमाडौं - गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।
सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अङ्कित भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विसं २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालै मात्र उक्त सुशोभन भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जनाएको हो ।
नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्सा अङ्कित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने पनि मन्त्रालयद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।
यसअघि संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणमा कालापानी/लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै नभएपछि सर्वत्र विराेध भएकाे थियाे । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । उक्त लोगो संविधान विपरीतसमेत भएकाे बताइएकाे छ ।
फेसबुक पेज Like गर्नुहोस