काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् ।

करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति चीन भ्रमणमा निस्किएको यो भ्रमणलाई विश्व कूटनीतिमा महत्वपूर्ण रूपमा हेरिएको छ ।

बीबीसीका अनुसार प्रस्थानअघि ट्रम्पले इरानसँगको तनाव अन्त्य गर्न चीनको सहयोग आवश्यक नरहेको बताएका छन् । उनले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विस्तृत छलफल हुने जानकारी दिएका छन्।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हामीसँग छलफल गर्न धेरै विषय छन्। स्पष्ट रूपमा भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनभने इरान पहिले नै हाम्रो नियन्त्रणमा छ।'

इरानप्रति कडा चेतावनी दोहोर्‍याउँदै उनले थपे, 'या त हामी सम्झौतामा पुग्नेछौँ, नत्र उनीहरू नष्ट हुनेछन्।' ट्रम्पको यो अभिव्यक्तिलाई मध्यपूर्वमा बढ्दो तनावबीच आएको कडा राजनीतिक सन्देशका रूपमा विश्लेषण गरिएको छ।

यसअघि चीनको विदेश मन्त्रालयले ट्रम्प मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जनाएको थियो।