रौतहट - नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजनामा रहेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्द्रपुर नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग किनारको जगत रिसोर्ट होटलमा छापा मार्दै प्रहरीले नक्कली सुनजस्तो देखिने धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडीका ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
प्रहरीले उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा ‘१० ग्राम सुन’ लेखिएको प्याकेटभित्र राखिएको पहेंलो रंगको नक्कली धातु ४ थान र थप गरी जम्मा ७ थान बरामद गरेको जनाएको छ।
यस्तै, घटनास्थलबाट ६ थान मोबाइल फोन र एक उपकरणसमेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले नक्कली सुन प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

.gif)

