काठमाडौं - सरकारी जग्गा अभिलेखमै किर्ते गरेर अर्कै व्यक्तिका नाममा दर्ता र बेचबिखन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्लाहीको ११ कट्ठा दुई धुर जग्गा अनधिकृत रूपमा व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, नायब सुब्बा टुकराम कोइराला र खरिदार राजेश कुमार झाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
त्यस्तै, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा आफ्नो नाममा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्तिका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार सर्लाहीको साविक बलवा सोकनाहा गाउँ विकास समिति–२ ९ख० अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा नक्कली जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान गर्दा सरकारी अभिलेख नै अनधिकृत रूपमा परिवर्तन गरिएको खुलेको आयोगको दाबी छ।
अनुसन्धानमा उक्त जग्गा वास्तविक रूपमा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको पाइएको छ। तर, यसअघि कुनै पनि समयमा जग्गाको हकभोगमा नरहेका किशोरी धामी थारू र भोला धामी थारूको नाममा रहेको देखाएर अभिलेख परिवर्तन गरिएको आयोगले जनाएको छ।
प्रतिवादीहरूले आपसी मिलेमतोमा वास्तविक विवरण लुकाई किशोरी धामी थारूका नाममा दाखिल खारेज गरेको, गलत लिखत तयार पारेको तथा सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर र थपघट गरेको अभियोगपत्रमा उल्लेख छ। यसबाट वास्तविक जग्गाधनीलाई हानिनोक्सानी पुर्याइएको आयोगको दाबी छ।
आयोगले तत्कालीन कार्यालय प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र वडाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ।
त्यस्तै, तत्कालीन वडा सचिव रायविरुद्ध ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम सजाय माग गरिएको छ।
जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र त्यसका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध ऐनको दफा २२ को प्रतिबन्धात्मक व्यवस्थाबमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

.gif)


