काठमाडाैं - नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीले चलखेल गरेको हुनसक्ने भन्दै सूची सार्वजनिक गरेको भोलिपल्ट (आज) शेयर बजार भारी अंकले घटेको छ । बुधबार शेयर बजार परिसूचक, नेप्से ५२.३९ अंकले घट्यो। आज परिसूचक २९६९.७२ बिन्दुमा पुगेको छ ।

२१९ कम्पनीको २ करोड ८२ लाख कित्ता शेयर खरीदबिक्री हुँदा १५ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज लघुवित्त बाहेक सबै समूहको सूचक घटेको छ। लघुवित्तको सूचक २.६२ प्रतिशतले उकालो लागेको छ।

बुधबार सीईडीबी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको शेयर मूल्य ९.९० प्रतिशतले बढेको छ । त्यसैगरी आज फर्स्ट माइक्रोफाइनान्स, यूनियन हाइड्रोपावर, आरएसडीसी लघुवित्त, सामुदायिक लघुवित्त लगायत शेयर मूल्य धेरै बढ्ने कम्पनी हुन् ।

जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेपाल हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, बेस्ट फाइनान्स कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।