काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । 

बिहीबार प्रदेश सभा सचिवालयमा पुगेर प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्तावसमेत गरिएको छ । 

बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिमा तरंग आएको थियो । अविश्वासको प्रस्ताव आउने निश्चित भएसँगै बुधबार राति नै मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरिसकेका छन् । त्यसका बाबजुद पनि अविश्वास प्रस्ताव दर्ता गरिएको छ । 

दर्ता भएको अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर भने गरेका छैनन् । तर, प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने सहमति भइसकेको स्रोतको भनाई छ । 

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन् । एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।