काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको बिचार र आत्मा नमारीकन एकताबद्ध बनाउने बताएका हुन् ।  पार्टीभित्र देखिएका असमझदारी समाधान गर्दै एकता कायम गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उनले कांग्रेसको पहिचान र मूल आदर्शमा कुनै सम्झौता गर्न नहुने धारणा राखे। कांग्रेसका कार्यकर्ताले आफू पार्टीको सदस्य भएकोमा गर्व गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

'सबैलाई गौरव लाग्ने कांग्रेस बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दो छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउँछौँ,' उनले भने । थापाले नागरिकको अधिकारका लागि काम गर्न सधैँ सत्ता र शक्ति आवश्यक नपर्ने पनि बताए। सत्ता र शक्ति राजनीतिका लागि अन्तिम लक्ष्य नभई नागरिकका पक्षमा काम गर्ने माध्यम मात्र भएको उनले स्पष्ट पारे। ‘सत्ता र शक्ति लक्ष्य होइन, केवल साधन र माध्यम हो,' उनले भने । सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीका पछिल्ला विषयमा आवश्यक निर्णय गरिने जानकारी दिए । उनका अनुसार बैठक दुई–तीन दिन चल्नेछ र बैठक सकिएलगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाइनेछ ।