काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा हुने बताए ।

उनले भने, ‘कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ ।’पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अलमल्याउने काम भइरहेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए। उनले पार्टी एकता कायम हुन्छ भने आफू महामन्त्री पद छाड्न तयार रहेको बताए ।

उनले भने, ‘सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन । केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले वरिष्ठ मान्न नपर्ने केही कारण छैन । उहाँहरूको योगदान मेरोभन्दा धेरै छ । यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु ।’ उनले कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाटै स्थानीय तहको उम्मेदवार छान्ने व्यवस्था गरिने समेत बताए ।