काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अघि बढाउन स्कुल विभागको दाबी छोडेको बताएका छन् । खबर डबली अनलाईनसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले दाबी गरिरहँदा एकता प्रक्रिया नै अलमलमा पर्ने देखेपछि पछि हटेको बताएका हुन् ।

‘मेरो रुची स्कुल विभागमा थियो । धेरै साथीहरुले पनि मलाई स्कुल विभागको जिम्मेवारी लिनुपर्छ भन्नुभएको थियो ।’ श्रेष्ठले भने, ‘तर यसले पार्टी एकतालाई अघि बढाउन सहज देखिएन् । म पार्टी एकताको हितको लागि पछि हटें ।’

शुक्रबार नेकपा सचिवालय बैठकले स्कुल विभागमा दाबी गरिरहेका उपप्रधानमन्त्रीसमेत रहेका पार्टी सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिएको छ । स्कुल विभागको नेतृत्वलाई लिएर पटक–पटकको सचिवालय वैठकसमेत सरेको थियो ।

स्कुल विभागमा श्रेष्ठ र पोखरेलसँगै नेताहरु झलनाथ खनाल, घनश्याम भुसाल, राम कार्की, देवेन्द्र पौडेल र बेदुराम भुसालले समेत दाबी गर्दै आएका थिए । पूर्वएमाले पंक्तिबाट पनि इश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी नदिन लभिङ्ग निकै चलेको थियो ।