काठमाडौैं -  बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ ।

प्रकाशित सूचनामा भनिएको छ, ‘मिति २०७६ पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७५ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकरीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसअघि पुस ११ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडि बढाउने कार्यसूची तय गरे पनि बैठक स्थगित गरिएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठकमा समेत असर पर्दै आएको छ ।