काठमाडौं - नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजालको श्रीमान्‌ कमल प्रसाद रेग्मी पनि पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कमललाई जेष्ठ नागरिकसम्बन्धी कसुरमा बल्खुबाट पक्राउ गरिएको हो । उनी जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व महानिर्देशक पनि हुन् । 

केहीदिनअघि बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको आरोपमा राष्ट्र बैंकको निर्देशक पदमा कार्यरत सुष्मालाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध ९ महिनाअघि उनकै ८४ वर्षीया आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । 

पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सुष्मा र उनका पति कमलले सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोडभन्दा बढी सम्पत्ति प्रयोग गरेका थिए । तर, माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकाल्दै पालन–पोषण नगरेपछि उनीहरुमाथि परेको उजुरीका आधारमा पक्राउ गरिएको हो । 

सुष्मालाई भने गत सोमबार जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिइसकेको छ । कमलमाथि पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।