आज स्वदेश फर्किंदै प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै छन् ।
प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने लागेका हुन् । प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान गएका थिए ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना भएको थियो । सो सम्मेलनमा २१ गते कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका थिए।
प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेटवार्ता गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्। उनले संयुक्त राष्ट्रसंघका उपमहासचिव रबाब फातिमासहित विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस