'हामीसँग सरकार बनाउने संख्या नै छैन’
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि आफूहरुसँग बहुमत नभएको बताएका छन् ।
शुक्रबार बुढानिलकण्डस्थित आफ्नो निवासमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले बहुमत नभएको कारण नयाँ सरकार बन्न नसकेको बताएका हुन् ।
देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)ले सरकारबारे प्रष्ट धारणा राख्न नसक्दा नयाँ सरकार गठनको विषय थाती रहेको बताए ।
हालको सरकारले केही गर्न नसकेको अवस्थामा तपाईंहरूको नेतृत्वमा वैकल्पिक सरकार आए यो समाधान हुन्थ्यो कि भन्ने पत्रकारको जिज्ञासामा देउवाले झर्किँदै भने, ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन । जसपाले निर्णय नगरी कसरी हुन्छ ?’
त्यस्तै, देउवाले कोरोनासँग सम्वन्धी विषयमा पार्टीको धारणा र विचारहरूबारे मन्तव्य पेस गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस