काठमाडौं - पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश वर्ष दूरीमा रहेको एउटा विशाल तारा अचानक गायब भएको घटनाले खगोलशास्त्री चकित परेका छन्।

कुनै तार सुपरनोवा बन्नु अगाडि नै ब्ल्याकहोलमा समाहित भएको यस्तो घटना पहिलो भएको उनीहरुले अनुमान गरेका छन्। नीलो रंगको यो तारा किनम्यान ड्वार्फ आकाशगंगामा थियो।

युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) को भेरी लार्ज टेलिस्कोपको मद्दतबाट उक्त तारा बिलाएको पत्ता लागेको हो। धेरै दूरीका कारण यो तारालाई देखिएको थिएन तर डिटेक्ट गरिएको थियो। यसको मद्दतबाट वैज्ञानिकहरु यति ठूलो तारा कसरी मर्छ भनी खोज गरिरहेका थिए।

यो तारा सूर्यभन्दा २५ लाख गुणा धेरै तेजिलो थियो । यो सन् २०११ देखि २०१९ को बीचमा गायब भएको अनुमान गरिएको छ । तारा यसरी एकाएक हराउनुलाई वैज्ञानिकहरुले धूलोले ढाकेको हुन सक्ने पनि अनुमान गरेका छन्।

यसको अर्को कारण भनेको तारा विस्फोट भई बन्ने सुपरनोभाको स्थिति नआउँदै ब्ल्याकहोलमा विलय भएको हुन सक्ने उनीहरुले आशंका गरेका छन् । टोलीका प्रमुख एन्ड्रयु एलनले यसरी यति धेरै ठूलो तारा समाप्त भएको यो पहिलो घटना भएको बताए। 

नेपाल समाचारपत्र दैनिकबाट