पोखरा बसपार्क खाली गराइँदै, १५ दिनभित्र संरचना हटाउन अन्तिम चेतावनी
काठमाडौं - पोखरा उपत्यका नगर विकास समितिले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रभित्र रहेका पसल, कबल तथा अन्य संरचना १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गको दक्षिण भाग, विमानस्थलको उत्तर क्षेत्र तथा पूर्वतर्फ सेती नदी आसपास निर्माण गरिएका संरचना हटाएर आधुनिक बसपार्क निर्माणको प्रक्रियालाई अघि बढाउन व्यवसायी तथा स्थानीयलाई आग्रह गरेको हो ।
सूचनाअनुसार तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैंले डोजर प्रयोग गरी हटाउनेछ । त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनीसमेत दिइएको छ ।
समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीलाई सात दिनभित्र नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षको मालपोत तथा भूमिकर तिरेको रसिद र अन्य सम्बन्धित कागजात समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ।
यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिका ले पनि बसपार्क क्षेत्रको अतिक्रमित संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। उक्त समयसीमा शनिबार सकिएपछि नगर विकास समितिले थप कडा कदमस्वरूप नयाँ सूचना जारी गरेको हो ।
पृथ्वीचोकस्थित बसपार्कको जग्गा लामो समयदेखि अतिक्रमणमा पर्दै आएको छ । आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने उद्देश्यले विसं २०३१र३२ तिर करिब २०५ रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि हाल अतिक्रमणका कारण करिब ६० रोपनी मात्र बाँकी रहेको बताइएको छ।
महानगरका अनुसार बसपार्कको जग्गामा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवारले घरटहरा बनाएर बसोबास गर्दै आएका छन् । महानगरले वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्दै अतिक्रमित जग्गा खाली गराएर आधुनिक बसपार्क निर्माण अघि बढाउने योजना बनाएको जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस