काठमाडौं - पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपाले आव्हवान गरेको नेपाल बन्दकै दिन प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाले राजधानीमा मार्चपास गरेका छन्। ओली समूहले माघ २३ अर्थात भोलि नारायणहिटी अगाडि शक्ति प्रर्दशनको कार्यक्रम राखेको छ।

जनसभाको तयारीस्वरुप ओली पक्षका युवा–विद्यार्थीले काठमाडौंमा मार्चपास गरेका छन् । आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीका लागि स्वयमसेवकहरुले मार्चपास गरेका हुन् ।

यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय गरेका हुन् । मार्चपासमा निस्किएका युवा विद्यार्थीले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी बा, ज्यान दिन तयार छ’ जस्ता नारा लगाएका छन्। युवा नेता महेश बस्नेतको नेतृत्वमा भएको मार्चपासमा रातो रंगको टोपी लगाएका छन्।