काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ बैठकमा प्रस्तुत गरेको राजनीतिक दस्तावेदलाई पुनः ‘आरोप पत्र’को संज्ञा दिएका छन् । यस अघि पनि उक्त दस्तावेदमा ओलीप्रति संगिन आरोप मात्रै रहेकोले आरोपपत्र भन्दै आएका पोखरेलले शुक्रबार पनि सोही संज्ञा दिएका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्ताव राजनीतिक दस्तावेज नभएकाले पार्टी भित्र छलफल नहुने भनाई दोहोर्‍याएका छन्। 

उनले भने, ‘उहाँले प्रस्तुत गर्नुभएको आरोप पत्र हो। राजनीतिक दस्तावेज होइन। अध्यक्ष केपी शर्मा ओलीले त्यसको उचित तरिकाले जवाफ दिनुहुन्छ। प्रचण्डले जवाफ पर्खिएर बस्दा हुन्छ ।’

पोखरेलले प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको आलोचना गर्दै आएका छन् ।