काठमाडौं - आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने भएको छ । आइतबार  दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । देशको पहाडी भूभागका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केही स्थानमा वर्षा हुनेछ । हाल देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमका स्थानहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा रातभर भएको वर्षा बिहानबाट भने रोकिएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले नेपालमा मनसुन कम सक्रिय भए पनि न्यूनचापीय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।